धनुषा । जनकपुर-ढल्केबर सडक खण्डमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मिथिला नगरपालिका २ स्थित विश्वकर्मा चोकमा सोमबार साँझ करिव साढे ६ बजे दुर्घटना भएको हो ।
जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको प्र २–००२–००१ च ०७१२ नम्बरको एम्बुलेन्स पवित्री हेल्थ केयर विष्णुपुर सिरहाले सोही दिशामा जाँदै गरेको ज ११ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मिथिला नगरपालिका ३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जिते भन्ने जितेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते २५ वर्षीय सरोजकुमार महतोलाई थप उपचारका लागि न्यूरो अस्पताल जनकपुर पठाइएको छ । मृतक र घाइते दुवै जना मोटरसाइकलमा सवार व्यक्तिहरू रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




