सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ जिरायतमा एक वृद्धाको हत्या भएको छ । स्थानीय वैजु महतोकी ७० वर्षीया श्रीमती पार्वतीदेवी महतोको दाउरा प्रहारबाट हत्या भएको सर्लाही प्रहरीले जनाएको छ । मंगलबार साँझ करिव ६ बजे आफ्नै घरमा हत्या भएको अवस्थामा पार्वतीको शव फेला परेको थियो ।
हत्यामा संलग्न भएको आरोपमा बुधबार बिहान स्थानीय एक युवकलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीले जनाएको छ । नजिकै रहेको ‘सीसीटीभी फूटेज’को अनुसन्धानबाट घटनामा संलग्न भएको आशङ्कामा २८ वर्षीय ती युवकलाई पक्राउ गरी आवश्यक सोधपुछ एवम् थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।
मृतकको अनुहारमा चोट देखिएको छ । शव नजिकै रगत लागेको काठको टुक्रा समेत प्रहरीले बरामद गरेको छ । मृतक पार्वतीको शव पोष्टमार्टमका लागि मंगलबार राति नै प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । वृद्धाको हत्या हुनुको कारण खुल्न बाँकी छ । यस बारे पत्रकार सम्मेलन नै गरेर सावजनिक गर्ने प्रहरीले जनाएको छ ।




