सर्लाही । सर्लाहीमा एक बोरा धान लुट्नको लागि ७० वर्षकी वृद्धाको हत्या भएको छ । बागमती नगरपालिका ४ जिरायतकी ७० वर्षीया पार्वतीदेवीको हत्या एक बोरा धान लुट्ने उद्देश्यसहित ३९ वर्षका युवकले गरेको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।
वृद्धाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले रौतहटको बृन्दावन नगरपालिका ५ नरकटिया घर भई हाल सर्लाहीको बागमती क्षेत्रमा मजदुरी गरेर बस्दै आएका ३९ वर्षका प्रमोद झा भनिने प्रमोद चौधरीलाई पक्राउ गरेको छ ।
घरमा अरु कोही नभएको बेला चौधरीले धान लुट्न खोजेपछि वृद्धाले प्रतिकार गर्दा नजिकै रहेको चिर्पट प्रहार गरेर वृद्धको हत्या गरेपछि उनले एकबोरा धान बोकेर हिँडेको पाइएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।
प्रहरीले घटनास्थलबाट वृद्धाको टाउकोमा प्रहार गरेको चिर्पट पनि बरामद गरेको छ । चौधरीले लुटेर लगेको धान समेत प्रहरीले बरामद गरिएको गिरीले बताए ।अनुसन्धानको क्रममा उनले वृद्धको हत्या आफूले गरेको स्वीकार गरेका छन् ।
उनलाई कर्तव्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरेर घटनाको थप अनुसन्धान अघि बढाइएको एसपी ज्ञवालीले जानकारी दिए । स्थानीय बौधु महतोकी पत्नी पार्वतीको मंगलबार साँझ आफ्नै घरमा विभत्स अवस्थामा शव फेला परेको थियो ।




