रौतहट । रौतहटको गुजरा नगरपालिकास्थित जंगलसहियामा ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । आइतबार बिहान ट्याक्टरले ठक्कर दिँदा बालकको ज्यान गएको हो ।
धनसारबाट जंगलसहियातर्फ आउँदै गरेको ना ७ त ७५७ नम्बरको सिरक डस्ना बनाउने ट्याक्टरले साइकललाई ठक्कर दिँदा शेख हसमुल्लाका १३ वर्षीया छोरा शेष सहनवाजको मृत्यु भएको हो । उनी गुजरा नगरपालिका ४ मुस्लिमटोलस्थित मामाघरमा बस्दै आएका थिए ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका सहनवाजलाई उपचारका लागि चन्द्रनिगाहपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बालकको मृत्यु भएपछि पीडित परिवारले मृतकको शव फिर्ता ल्याई घटनास्थलमा राखेर प्रदर्शन गर्दै जंगलसैया–धन्सार सडक अवरुद्ध पारेका छन् ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने घटनास्थलमा प्रहरी परिचालन गरेर तनाव कम गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




