वीरगन्ज । वीरगन्जमा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । मालवाहक पिकअप गाडीमै लागुऔषध तस्करी गर्ने दुई जनालाई ठूलो परिमाणमा लागुऔषधसहित वीरगन्जको नगवाबाट प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले गत शनिबार बेलुकी वीरगन्ज महानगरपालिका १६ नगवाको बोखार चोकमा मधेश प्रदेश ०३-००१ च ७०९८ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उक्त पिकअप गाडीमा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले बेरेर लुकाइएको लागुऔषध नुरफिन हजार १ हजार २०० पिस, फेनारगन १ हजार २०० पिस, डाइजेपाम १ हजार २०० पिस, ओनरेक्स ५० बोत्तल र टपेन्टाडोल ट्याब्लेट ३९० पिस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।
बरामद लागुऔषधसहित गाडीका चालक वीरगन्ज महानगरपालिका २० का २१ वर्षीय विष्णु पटेल र त्यही ठाउँका २० वर्षीय राजन यादवलाई नियन्त्रणमा लिइएको थापाले जानकारी दिए ।
लागुऔषध र गाडीसहित नियन्त्रणमा लिइएको दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा आइतबार पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




