सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको पुल जीर्ण भएपछि दुर्घटनाको जोखिम बढेको छ ।
एघार स्पानसहित ३६३.५ मिटर लामो सो पुलको सर्लाहीतर्फको स्पान नम्बर पाँचको ‘सपोर्ट स्प्रिङ’ जीर्ण भएर पाँच इन्च तल सरेकाले दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ ।
स्थानीयले मुख्य राजमार्गमा रहेको पुलको स्पान भासिन थाले पनि मर्मतका लागि सरोकारवाला निकायको ध्यान नदिएको बताएका छन् । यही सडक भएर दिनहुँ हजारौं सवारी गुड्ने गरेको छ ।
सडक डिभिजन कार्यालय सर्लाही–रौतहटका प्रमुख दीपेन्द्र पाण्डेयले भने पुल जीर्ण भएको विषयमा सडक डिभिजन कार्यालयबाट अनुगमन गरी अवस्था बारे जानकारी लिइएको बताए ।
पूर्वमा कमला नदीदेखि बागमती नदीसम्मको चार लेन सडकमा पर्ने पुल निर्माणका लागि नयाँ योजना बनिरहेकाले अहिले मर्मत लगायतका काम नगरिएको उनको भनाइ छ ।




