वीरगंज । पर्साको कालिकामाई गाउँपालिका १ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी जनकपुर उपमहानगरपालिका ४ मुरली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १ बस्ने २२ वर्षीय अर्जुन बैठा र २१ वर्षीय ईन्द्रजीत भण्डारी रहेका छन् ।
प्रहरी चौकी हनुमाननगर र लागूऔषध नियन्त्रण व्यूरो जनकपुरबाट खटिएको प्रहरीले ज १० प १२८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।




