सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका १ स्थित भेडियाहीमा बुधबार साँझ बिआर ३० के ६६८८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६५ वर्षीया मलकिनया देवीको मृत्यु भएको हो ।
आफ्नै भतिजका छोराले चलाएको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी मलकिनया देवीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीले जनाएको छ । मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक वृद्धाको शव पोस्टमर्टमका लागि सोही अस्पतालमा राखिएको छ ।




