वीरगंज । कलैया सडकखण्डको नौतन बहुअरीमा कारले ठक्कर दिंदा एक जना बालिकाको मृत्यु भएको छ । बारा, परवानीपुर गाउँपालिका ५ नौतन बस्ने ऋषिमुनि कानूकी ६ वर्षीया छोरी प्रीतिकुमारी साहको मृत्यु भएको हो ।
दिउँसो २ बजे कलैयाबाट वीरगंज गइरहेको बिएल १ सिएस २३६० भारतीय नम्बरको कारले ठक्कर दिएपछि अचेत भएकी बालिकाको उपचारको लागि एलएस न्युरो अस्पताल, बहुअरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि केहिबेर गाउँलेहरूले सडकमा चक्काजाम गर्ने प्रयास गरेका थिए ।
प्रहरीले बल प्रयोग गरी आवागमन सुचारु गराएको थियो । कारमा सवार बारा, सिम्रौनगढ नगरपालिका ९ बसवरिया बस्ने ३७ वर्षीय मुकेशप्रसाद यादव र भारत बिहार, मोतिहारी भदहज बस्ने २७ वर्षीय मनीषकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
दुवै जनाको हात र शरीरमा चोट पटक लागेको छ । यी दुवैमा कार चालक को हो भन्ने बारे प्रहरीले यकीन बताएको छैन । बालिकाको शव अस्पतालमा राखिएको छ । इलाका प्रहरी कार्यालय, नौतनको टोलीले दुवै जनालाई नियन्त्रणमा राखेको छ ।




