सिरहा । सिरहाको अर्नमा गाउँपालिका २ ब्रह्मपुरीका ५० वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बिहीबार बिहान खेतमा काम गर्न जाँदा उनकै सँधियारले गर्धनमा कोदालो प्रहार गरी महतोको हत्या गरेको प्रहरीले जनाएको छ । सँधियारसँग जग्गाका विषयमा भएको विवादका कारण एक्लै भएको मौका छोपी महतोको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार महतो हत्यामा संलग्नको पहिचान भइसकेको छ । सिरहा प्रहरीका अनुसार फरार आरोपितको खोजी जारी छ । प्रहरीका अनुसार महतो विष्णुपुर बजारमा किटनाशक तथा एलपी ग्यासको पसल गर्ने व्यापारी पनि हुन् ।




