वीरगंज । पर्सामा तत्कालीन शाखा अधिकृत मोहनप्रसाद मैनालीका हत्या आरोपीलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । २०६५ असोज २२ गते जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत तत्कालीन शाखा अधिकृत मैनालीको गोली हानी हत्या भएको थियो ।
५२ वर्षीय मैनालीको हत्या आरोपमा हालसम्म फरार रहेका प्रेम गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी कुमोध ढुंगेलले बताए । सखुवा प्रसौनी गाउँपालिका ७ महुवन बलुवाका ७२ वर्षीय गिरीलाई प्रहरीले उनकै घरबाट आइतबार पक्राउ गरेको हो ।
मैनालीको हत्या आरोपमा पक्राउ परेका गिरी अरु पनि घटनामा संलग्न रहेको प्रहरीको दाबी छ । उनले नेपाल र भारतमा विभिन्न घटना घटाएको प्रहरीले जानकारी दिएको छ ।
२०५७ भदौ १२ गते राति साढे १२ बजे पर्सा विन्दवासिनी ४ का ३० वर्षीय देवेन्द्र प्रसाद यादवको घरमा डकैती गर्ने क्रममा गोली हानी यादवको हत्या भएको थियो । यो घटनामा पनि उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।
२०६६ फागुन १९ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसार हात हतियार तथा खर खजाना मुद्दामा फरार रहेको, २०६० पुस २५ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसार हात हतियार तथा खर खजाना मुद्दामा फरार रहेको, २०६० असार ३ गतेको पुनरावेदन अदालत हेटौँडाको फैसला अनुसार हात हतियार तथा खर खजाना मुद्दामा फरार रहेको पाइएको छ ।
२०५६ जेठ ४ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसलाले केही सार्वजनिक अपराधमा संलग्न रहि फरार रहेको पनि एसपी ढुंगेलले बताए ।




