सर्लाही । महिलालाई जबरजस्ती बलात्कार गरेको आरोपमा सर्लाही प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सडकमा बेवारिसे भएर हिँड्ने एक महिलालाई जबरजस्ती करणी गरेर फरार रहेको युवकलाई सर्लाही प्रहरीले करिब दुई हप्तापछि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाहीको बसबरिया गाउँपालिका ३ भवानीपुर मसहरी टोलका बासिन्दा ३५ वर्षीय रमन माझी रहेका छन् । माझीले गत जेठ १३ गते करिब ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप रहेको छ ।
जेठ १३ मा बागमती नगरपालिका ४ जिरायतस्थित डाँडाटोलबाट नयाँ बस्तीतर्फ जाने सडक किनारमा उक्त महिला अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले महिलालाई उद्धार गरेर प्रादेशिक अस्पताल मलंगवामा उपचार गराएको थियो ।
उपचारपछि महिलाले आफूमाथि जबरजस्ती करणी भएको बयान प्रहरी समक्ष दिएकी थिइन् । महिलाको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।
महिलाले आफ्नो घर सप्तरी जिल्लामा रहेको बताउने गरेकी तर वास्तविक ठेगाना यकिन हुन नसकेको प्रहरीको भनाइ छ । पीडित महिलालाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र वीरगंजमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।




