बारा । बाराको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरि भूषण कुशवाहाको हत्या प्रकरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । जिल्ला प्रहरी र प्रशासन कार्यालयको गेट अगाडि मृतक कुशवाहाको शव राखेर प्रदर्शन गरिएको हो ।
शैक्षिक संघ संगठन एवम् समर्थकहरूले दोषीलाई कारबाहीको माग गर्दै शनिबार दिउँसो २ बजेदेखि प्रदर्शन गरेका हुन् । अज्ञात समूहले प्रहार गरेको गोलीबाट क्याम्पस प्रमुख कुशवाहाको उपचारको क्रममा शुक्रबार साँझ वीरगञ्जमा मृत्यु भएको थियो ।
कलैयातर्फ फर्किने क्रममा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा उनीमाथि शुक्रबार गोली प्रहार भएको थियो । कुशवाहा हत्या प्रकरणमा संलग्न रहेको आशङ्का प्रहरीले अहिलेसम्म ५ जना पक्राउ गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




