रौतहट । चन्द्रपुर नगरपालिका ४ स्थित पुर्वपश्चिम राजमार्गको धन्सार पुल नजिक शुक्रबार भारतीय नम्बर प्लेटको स्कारपियो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा ४ जना घाइते भएका छन् ।
सर्लाहीको बाग्मती नगरपालिकास्थित भरत ताल घुमेर बाराको पिलुवा जाँदै गरेको बिआरजिरो ५ एटि ५९६३ नम्बरको स्कारपियो जिपको पछाडि बायाँ साइडको चक्का पड्किए पछि अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो ।
उक्त जिप खयरको रुखमा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रुखमा ठोक्किँएर क्षतिग्रस्त जिपमा सवार २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । जिपमा सवार ४ जना घाइते भएका छन् ।
घाइतेको बारास्थित निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक सुरेन्द्र विक्रम बर्तौलाको टोली घटनास्थल पुगेको थियो ।
प्रहरी निरीक्षक बर्तौलाका अनुसार दुर्घटनामा परी जिपमा सवार भारत बिहार पुर्वी चम्पारण ग्राम पञ्चायत झिट्काही ४ का ३५ वर्षीय तमन्ना शेखको मृत्यु भएको छ । दुर्घटनामा अर्का गम्भीर घाइते २१ वर्षीय ईर्फान आलमको मेडिसिटी बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
आलमको मुख र टाउकोमा चोट लागेको थियो । स्कारपियो चालक २२ वर्षीय सोहेल अमिर घाइते छन् । यस्तै अर्का घाइते आशिष रेजाको ढाड, कम्मर र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
जिपमा सवार उल्लाह शेखको टाउकोमा चोट लागेको छ । सोही जिपमा सवार सद्धाम हुसेनको दुबै हात, खुट्टा र ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैको वीरगंजमा उपचार भइरहेको छ ।




