रौतहट । कटुवा पेस्तोलसहित सशस्त्र प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ । भारत सीतामढी जिल्ला बैरगनिया ३ असोगी बस्ने २१ वर्षीय युवक राहुल रामलाई सशस्त्र प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरी आफूलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
सोमबार राति साढे १२ बजे नेपाल–भारत सीमा रहेको गौर नगरपालिका २ महादेवपट्टिबाट सशस्त्र प्रहरीको टोलीले भारतीय युवक रामलाई पक्राउ गरेको थियो ।
भारतीय नम्बरको मोटरसाइकलबाट नेपालतर्फ आएका रामलाई चेकजाँच गर्दा मोटरसाइकलको टूल बक्समा लुकाएर राखेको अवस्थामा कटुवा पिस्तोल बरामद भएको सशस्त्र प्रहरीले दाबी गरेको छ । पक्राउ परेका रामलाई आवश्यक कारबाहीका लागि जिप्रका, रौतहटको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।




