सप्तरी । सप्तरीमा श्रीमतीको हत्या अभियुक्त उनका पतिलाई जन्मकैदको सजाय भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको इजलाशले शम्भुनाथ नगरपालिका ५ मोहनपुरकी ३२ वर्षीया किरणकुमारी चौधरीको हत्या आरोपमा उनका श्रीमान ३७ वर्षीय इन्द्रदेव चौधरीलाई जन्मकैदको सजाय गरेको हो ।
इन्द्रदेवलाई जन्मकैदका साथै मृतकका हकवालालाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने र आरोपितबाट फौजदारी कसुर पीडित राहत कोषमा २ हजार ८ सय रुपैयाँ जम्मा गराउने समेत फैसला भएको जिल्ला अदालतले जनाएको छ ।
आरोपितले २०८० असार १९ गते हत्या गरेको भन्दै मृतकका बुवा सप्तरीको सुरुंगा नगरपालिका ५ का ५२ वर्षीय श्रीनारायण चौधरीले इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा उजुरी दिएका थिए । घरायसी विवादमा झोलामा प्रयोग हुने फित्ताले घाँटी बाँधी थिचेर हत्या गरेको मृतकका बुवाको आरोप छ ।
खाना खाएर कोठामा सुतेकी किरण असार १९ गते दिउँसो १२ बजे बेहोस अवस्थामा फेला परेकी थिइन् । स्थानीयवासीले घटना बारे थाहा पाई तत्कालै उपचारका लागि नजिकैको शम्भुनाथ नगरपालिका ६ कठौनास्थित कृष्णा अस्पतालमा उपचारका लागि लगेका थिए । अस्पतालका चिकित्सकले किरणको मृत्यु भएको घोषणा गरेको थियो ।
प्रहरी चौकी कठौना र इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले आरोपितलाई घटनाकौ दिन नियन्त्रणमा लिई सोधपुछ गर्दा हत्या घटनामा उनको संलग्नता खुलेपछि इलाका प्रहरी कार्यालय कल्याणपुरले कर्तव्य ज्यानमा उजुरी दर्ता गरेको थियो । सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलाशबाट आरोपित साउन १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।




