वीरगंज । वीरगंज महानगरपालिका ३२ टेढा गाउँको जनता सडकको खाल्डो मर्मत नहुँदा सो सडकखण्ड भएर आवतजावत गर्नेहरूलाई समस्या भएको छ । जीतपुरदेखि रङ्गपुरसम्मको जनता सडकका थुप्रै ठाउँमा कालोपत्र उप्किएर खाल्डो भएको छ र सोको मर्मत नहुँदा खास गरी वर्षायाममा समस्या हुने गरेको छ ।
खाल्डो सडकमा पानी जमेर पोखरीमा परिणत भएको र सो बाटो भएर गुड्ने सवारी साधनलाई समस्या भइरहेको छ । जीतपुर, टेढा, मिलनचोक, बडनिहार, मनवा हुँदै रङ्गपुरसम्म पुग्ने सो सडक अति व्यस्त हुने गरेको र ठाउँ ठाउँमा कालोपत्र भत्किएर ठूला ठूला खाल्डा भएका छन् ।
सडक क्षमताभन्दा बढी बजनमा हेभी सवारीसाधन पनि यो सडकखण्डबाट आवतजावत गर्ने हुँदा सडक भत्किएको हो । हेभीदेखि हलुका सवारी साधनको आवतजावत यो सडकखण्डमा भइरहन्छ । वर्षायाममा खाल्डोमा पानी जमेको कारण कति पटक सवारी दुर्घटना हुँदा पनि वीरगंज महानगरपालिका र सडक विभागले सडक मर्मतमा चासो देखाएको छैन ।




