महोत्तरी । महोत्तरीमा प्रहरीले गोली हानेर डाँका आरोपितलाई पक्राउ गरेको छ । २०५९ सालदेखि लुटपाटमा संलग्न रहेका सर्लाही लालबन्दी नगरपालिका २ बस्ने ४० वर्षीय विजेन्द्र पासवानलाई गोली हानेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
विगत लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिरहा र सिन्धुलीमा पटक पटक डकैती गर्ने खुनखार डाँका पासवानलाई आइतबार राति साढे १० बजेको समयमा महोत्तरीको सोनमा गाउँपालिका ५ खैरवनी स्थित सर्लाही र महोत्तरीको सिमाना सितलपुर भन्ने स्थानमा प्रहरीले एक राउण्ड गोली घुँडामा हानी नियन्त्रणमा लिएको हो ।
प्रहरीको गोली लागेर घाइते भएका पासवानको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । प्रहरीको अभिलेख अनुसार पासवानले २०५९ देखि २०७८ सम्ममा बारामा २, सर्लाहीमा १, महोत्तरीमा २, सिरहामा १, सिन्धुलीमा १ गरी ७ वटा लुटपाट तथा डकैती गरेको अपराधिक अभिलेखमा देखिएको छ । यस्तै उनले भारतमा समेत पटक पटक डकैती गरेको प्रहरीले जनाएको छ ।




