वीरगंज । चितवनको सिमलताल दुर्घटनामा परेर त्रिशूलीमा बेपत्ता भएका बारा, प्रसौनी गाउँपालिका १ नकटुवाका ४८ वर्षीय ताराचन्द पटेल र उनकी पत्नी ४३ वर्षीया कुसमी देवीको अवस्था पत्ता नलागेपछि बुधबार उनका परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।
बुधबार बिहान परिवारजनले हिन्दू रीतिरिवाज अनुसार दुवै जनाको छुट्टा छुट्टै कुशको शव बनाएर त्रिवेणी नदीस्थित चटियाबाबा घाटमा अन्तिम संस्कार गरेका थिए । ताराचन्दका जेठा छोरा मदन पटेलले बुबाआमा दुवैको शवमा दागबत्ती दिएर १३ दिने किरियामा बसेका छन् ।
ताराचन्दका भाइ रमेश पटेलले दाजुभाउजूको अवस्था पत्ता नलागेपछि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको बताए । दाजु ताराचन्द काठमाडौंको अस्पतालमा भर्ना रहेका ज्वाइँका भाइलाई भेट्नका लागि भाउजूसँग बिहिबार राति वीरगंजबाट बाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस चढेर काठमाडौं जाँदै गर्दा दुर्घटनामा परेका थिए ।
यसैबीच, प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जयसवालले दुर्घटनामा परेका ताराचन्द र कुसमी देवीको परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँँ दिने घोषणा गरेका छन् । बुधबार दाहसंकारमा सहभागी भएका अध्यक्ष जयसवालले पटेल परिवारलाई गापातर्फबाट राहतस्वरूप एक लाख दिने घोषणा गरेका हुन् ।
यसैगरी, वीरगंज कलेजले विद्यार्थी सुजीत कुमारको श्रद्धाञ्जलिसभा गरेको छ । बहुदरमाई नगरपालिकाको रामनगरी निवासी सुजीत कुमार सिमलतालको पहिरोले बगाएको बसमा रहेका र त्रिशूली नदीमा बेपत्ता भएका थिए ।
उनको अवस्था अज्ञात भएपछि परिवारजनले दाहसंस्कार गरेका थिए । त्यसपछि वीरगंज कलेजले बुधबार श्रद्धाञ्जलिसभाको आयोजना गरेको हो । वीरगंज कलेजबाट कक्षा १२ को परीक्षा दिएर बसेका उनी प्रहरी सहायक निरीक्षकको दोस्रो पत्रको परीक्षाका लागि एन्जल डिलक्स बसमा चढेर काठमाडौं जाने क्रममा सिमलतालको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।
कलेज सञ्चालक समितिका अध्यक्ष डा दीपेन्द्रकुमार चौधरीले सुजीतको फोटोमा श्रद्धाञ्जलि अर्पण गर्दै यस्तो दुःखद घटनाबाट कलेज परिवार स्तब्ध भएको बताए । क्याम्पस प्रमुख विनोद गुप्ताले कलेजले एक अनुशासित र असल विद्यार्थी गुमाएको बताए । श्रद्धाञ्जलि सभामा कलेजका शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।




