सिरहा । सिरहामा छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्नमा गाउँपालिका २ ब्रह्मपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
बच्चुले गत जेठ ३ गते बिहान ब्रह्मपुरीस्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको आरोप छ । ट्याक्टर लिएर खेतमा पुगेका बुधरामलाई बचाइले कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीका अनुसार लामो समयदेखि जग्गाको विषयलाई लिएर बुधराम र बचाइबीच विवाद थियो । घटनालगत्तै फरार भएका बचाइलाई खोज तलासको क्रममा सिरहाको औरही गाउँपालिका १ दरहैयास्थित नेपाल-भारतको सीमा क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको डीएसपी सापकोटाले बताए ।
बचाइमाथि कर्तव्य ज्यान मुद्दामा ३ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




