सर्लाही । सर्लाहीबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला सदरमुकाम सर्लाही क्याम्पसमा सिटिइभिटीबाट सञ्चालित सामान्य चिकित्साको प्रवेश परीक्षाका क्रममा अर्काको नाममा परीक्षा दिन खोज्ने एक जना पक्राउ परेका हुन् ।
सिरहा सुखीपुर नगरपालिका ३ का ३१ वर्षीय दुर्गा शर्मालाई प्रहरीले पक्राउ गरेको हो । उनले शिवनारायण ठाकुरको नाममा परीक्षा दिन परीक्षा केन्द्रमा प्रवेश गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शर्माविरुद्ध शिक्षा ऐन २०२८ अनुसार जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रहरीले शर्मालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।




