महोत्तरी । भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका १४ मा ६ सय ११ किलोग्राम गाँजासहित उनीहरू गएराति पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ गरिएको हो ।
मिनी ट्रक प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




