सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका ८ टाँडीमा शनिबार एक युवक मृत फेला परेका छन् । टाँडी निवासी १९ वर्षीय मुन्ना साह मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिए ।
मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शङ्कास्पद रहेको उनले बताए । मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको छ ।
घटनाका विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए ।




