महोत्तरी । महोत्तरीमा एक जना महिलाको मृत्यु भएको छ । मंगलबार मध्यराति १ बजे जलेश्वर नगरपालिका ८ रमौलकी २० वर्षीया रिनादेवी रायको मृत्यु भएको प्रहरीले जनाएको छ । थप दाइजो नदिँदा श्रीमान रोहनकुमार राउतसहित ससुरा पक्षले कुटपिट गरी उनको हत्या गरेको भन्दै माइतीपक्षले आरोप लगाएका छन् ।
धनुषाको हंसपुर नगरपालिका ६ सोनिगामाकी रिनादेवीको गत वैशाख १९ गते रोहनकुमारसँग विवाह भएको थियो । विवाहमा लत्ता, कपडा, भाडा बर्तन, फर्निचर, सुन, चाँदीका गहना तथा नगद गरी जम्मा १५ लाख खर्च गरेको बुबा नवलले बताए ।
विवाहको केही दिन दाम्पत्य जीवन राम्रै चलेपनि पछिल्लो समय थप दाइजो माइतीबाट ल्याउन भनी छोरी रिनादेवीलाई पतिसहित घर परिवारले निरन्तर झैझगडा, कुटपिट तथा यातना दिने गरेको बुबा नवलको भनाइ छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले भने शवको प्रकृति हेर्दा र परिवारका मान्छेहरूसँग बुझ्दा प्रारम्भीक रूपमा मृत्यु अस्वभाविक नदेखिएको बताए । उनका अनुसार प्रहरी पुग्दा घरको बरण्डामा रिनादेवीको शव फेला परेको थियो ।
‘खाना खाएर उनी श्रीमानसँगै सुतेकी थिइन् । अचानक शरीर चिसो भएपछि उनलाई प्रादेशिक अस्पताल जलेश्वर उपचारको लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घर ल्याएको कुरा आएको छ,’ उनले भने, ‘कसरी मृत्यु भएको हो पोष्टमर्टम रिपोर्टबाट थाहा हुन्छ । हत्या भएको प्रमाण हामीले भेटेका छैनौं ।‘
मृतक रिनाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । छोरीको हत्या भएको दाबी गर्दै नवलले रिनाकी पति रोहनकुमारसहित परिवारका चार जनाविरूद्ध प्रहरीमा बुधबार कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन् ।
ससुरा ५२ वर्षीय बृज मोहन राउत, सासु ४८ वर्षीया मनतोर देवी राउत र देवर २५ वर्षीय ओमकुमार राउतविरुद्ध जाहेरी परेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




