सर्लाही । सर्लाहीको पर्सामा स्कुल बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । शुक्रबार साँझ ६ बजेतिर पर्सा गाउँपालिका वडा नम्बर ४ स्थित भित्रि सडखण्डमा स्थानीय मनकामना बोर्डिङ स्कुलको म प्र ०३-००१ क २६१९ नम्बरको बस दुर्घटना भएको हो ।
कविलासी नगरपालिकाबाट नारायणपुर तर्फ विद्यार्थी लिएर जाँदै गरेको बस दाहिनेपट्टि कुलोमा भासिँदा बसमा सवार विद्यार्थी घाइते हुन पुगेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उक्त दुर्घटनामा बसका चालकसहित ३ जना विद्यार्थी घाइते भएका छन् ।
घाइते हुनेहरूमा ईश्वरपुर नगरपालिका १४ का २१ वर्षीय चालक नवलकुमार महतो, पर्सा ३ का रुपेश साहका ९ वर्षीया छोरा आदित्य कुमार साह, सोही ठाउँका दिलिप साहका ५ वर्षीय छोरा दक्ष साह र सोही ठाउँका तौकिर अन्सारीका ६ वर्षीय छोरा कौनेन अन्सारी रहेका प्रहरीलले जनाएको छ ।
दुर्घटनामा परेको बसको कागजी अवस्था ठीक रहेको र नारायणपुरबाट खटिएको प्रहरीको टोलीले घटनास्थलबाट बस ल्याउने पहल गरिरहेको प्रहरीले जनाएको छ ।




