महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेश यादवको मृत्युलाई माओवादी केन्द्रले रहस्यमय बताउँदै घटनाको गहन अनुसन्धानको माग गरेको छ । ३५ वर्षीय यादवको शव आइतबार बिहान महोत्तरीको बर्दिबास नगरपालिका ८ को सडक छेउमा मोटरसाइकल सहित फेला परेको थियो ।
शवको पोस्टमार्टम काठमाडौंको टिचिङ अस्पतालमा गरिएको छ र सोमबार साँझ गाउँमा अन्त्यष्टि समेत सम्पन्न भएको छ । माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले यादवको मृत्यु सामान्य मोटरसाइकल दुर्घटनाबाट मात्र नभएको दाबी गरेका छन् । खड्काले घटनाको प्रकृति हेर्दा यो दुर्घटना स्वभाविक नदेखिएको भन्दै महोत्तरी प्रहरीसँग गहिरो छानबिनको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले भने घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको जानकारी दिए । उनले घटनास्थलमा कुकुर लगेर अनुसन्धान गरिएको र पोस्टमार्टम रिपोर्ट आएपछि थप जानकारी खुल्न सक्ने बताए । यादवको शव बर्दिबास-जलेश्वर सडकखण्डको कल्भर्टमुनी फेला परेको थियो, जहाँ नजिकै उनको मोटरसाइकल पनि भेटिएको थियो ।
वडाध्यक्ष यादव, स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट रामगोपालपुर नगरपालिका २ मा निर्वाचित भएका थिए । माओवादी नेता तथा पूर्व सभासद लालेन्द्र मण्डलले यादवको मृत्यु स्वभाविक नभएको दाबी गर्दै घटनाको प्रकृति हेर्दा दुर्घटना सुनियोजित जस्तो देखिएको बताएका छन् ।
मण्डलले प्रहरीसँगै घटनास्थलमा गएर अवलोकन गर्दा, बाइक दुर्घटनाजस्तो नदेखिएको र घटनाको समय बारे पनि स्पष्ट जानकारी नआएको बताए । शनिबार दिउँसोदेखि रातिसम्म यादव दुई वटा होटलमा अन्य चार जना व्यक्तिहरूसँग देखिएका थिए, जसमा दुई जना युवती पनि सामेल थिए ।
सीसीटीभी फुटेजमा उनीहरूबीच विवाद भएको दृश्य कैद भएको मण्डलले बताए । मण्डलका अनुसार, दुर्घटनामा मोटरसाइकलको पाटपुर्जा छरपस्ट हुनुपर्ने र शरीरमा पनि ठूलो चोट पटक देखिनुपर्ने हो । तर, घटनास्थलको प्रकृति हेर्दा, यादवको मोटरसाइकलमा कुनै गह्रौं वस्तुले प्रहार गरिएको जस्तो देखिएको छ । वडाध्यक्ष यादवसँग होटलमा रहेका अन्य चार जनाको पहिचान खुल्न बाँकी छ ।
माओवादी केन्द्रले ती चार जनालाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई आग्रह गरेको छ । डीएसपी सन्तुलाल जयसवालले घटनास्थलमा यादव एक्लै थिए कि उनको मोटरसाइकलमा अर्को व्यक्ति पनि सवार थियो, त्यो स्पष्ट नभएको बताए । वडाध्यक्ष यादवको परिवारमा पत्नी, एक छोरा र एक छोरी छन् । यादवको मृत्युले अहिले रामगोपालपुर शोकमग्न बनेको छ ।




