सर्लाही । सर्लाही प्रहरीले नक्कली नोट बनाउने गिरोहका आठ सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सीमावर्ती क्षेत्रको गोडैता नगरपालिका १२ मधुबनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग हुने सामग्रीसहित पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिहरूमा काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ निवासी २६ वर्षीय सौगात थापा मगर, कागेश्वरी मनोहरा नगरपालिका ६ का ४७ वर्षीय विजय लामा, सर्लाहीको गोडैता नगरपालिका १२ मधुबनी गाउँका ३२ वर्षीय जनार्धन सिंह, रौतहटको चन्द्रपुर नगरपालिकाको नराई टोलका ३७ वर्षीय विशाल राई रहेका छन् ।
त्यसैगरी, ललितपुर महानगरपालिका १, कुपनडोलका ३३ वर्षीय सञ्जय राना मगर, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ निवासी ३७ वर्षीय अमिर खत्री, भारतको सीतामढी थाना बैरगनिया ग्राम पंचायत पानी टंकी निवासी ४९ वर्षीय पप्पु भन्ने राजीव ठाकुर र भारतकै मेजरगंज पंचायत ८ निवासी ४० वर्षीय सुवोध कुमारलाई पनि पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय गहडिया, प्रहरी चौकी मधुबनी गाउँ, र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट (बीओपी) मधुबनीबाट खटिएको प्रहरी टोलीले, नक्कली नोट बनाउने सूचना पाएपछि मधुबनी गाउँमा सिँचाइका लागि बनाइएको खाली घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनास्थलबाट नक्कली नोट बनाउने सामग्रीका रूपमा एक हजार दरको नोटको साइजमा काटिएका १४ थान कागज, विभिन्न रंगका आठ लिटर केमिकल, ९५ हजार ८०५ नेपाली रुपैयाँ, १० थान मोबाइल सेट, एक नेपाली स्कारपियो, र दुईवटा भारतीय मोटरसाइकल बरामद गरेको छ ।
सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहका अनुसार, पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीलाई जिल्ला प्रहरी कार्यालय मलंगवामा लगेर थप अनुसन्धान भइरहेको छ । जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि १० दिनको म्याद प्रदान गरेको छ । गोडैता नगरपालिका क्षेत्रमा यसअघि पनि नक्कली नोट बनाउने गिरोह सक्रिय रहँदै आएको र प्रहरीले त्यहाँ थप शंकास्पद व्यक्तिको खोजी जारी राखेको छ ।




