सिरहा । सिरहाको लहानमा प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गहनासहित एक युवालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानले आइतबार साँझ करिब ७ बजे लहान ७ स्थित दुर्गामन्दिर नजिकबाट मोरङ उर्लाबारी नगरपालिका ५ का ३० वर्षीय दिपेन्द्र विश्वकर्मालाई करिब ८ किलो चाँदीका गहनासहित पक्राउ गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार, विश्वकर्मा चाँदीका गहना बोकेर लहान बजारबाट दुर्गामन्दिरतर्फ जाँदै गरेको विशेष सूचना प्राप्त भएपछि, प्रहरीले उनलाई रोक्न सफल भएको हो । उनको साथबाट फेला परेका गहनाको मूल्य करिब १० लाख ४० हजार रुपैयाँ पर्ने बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार, चाँदीको गहना कहाँबाट ल्याइएको र कसको लागि ल्याइएको भन्ने विषयमा अनुसन्धान जारी छ। विश्वकर्मालाई आवश्यक कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा पठाउने तयारी भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा विश्वकर्मा केवल भरिया मात्र हुन सक्ने अनुमान गरिएको छ । उनले प्रारम्भिक बयानमा लहानका एक व्यवसायीका लागि भारतबाट गहना ल्याएको बताएका छन् ।




