धनुषा । धनुषामा नम्बर नखुलेको मोटरसाइकलको ठक्करले विद्यालयबाट घर फर्किरहेको एक बालिकाको मृत्यु भएको छ । मृतक बालिका रिता यादवकी ७ वर्षीया छोरी रचना यादव हुन्, जो क्षिरेश्वरनाथ नगरपालिका ७ महादेवमण्ठ टोलका निवासी हुन् ।
आज बिहान साढे ९ बजेतिर दुर्गातुल्सी राष्ट्रिय आधारभूत विद्यालयबाट परीक्षा दिएर घर फर्किरहेकी रचनालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि मोटरसाइकल चालक फरार छन् ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार, मोटरसाइकल चालकको खोजी जारी छ । बालिकाको शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।




