जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम उपमहानगरपालिका २४ का वडाध्यक्ष उपेन्द्र सहनी, वडासचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई मंगलबार नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका ८ का एक सेवाग्राहीसँग घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको छ । सेवाग्राहीको वडा नम्बर २४ स्थित जग्गाको घरबाटो सिफारिस गरिदिनको लागि कार्यालय सहयोगी मण्डलमार्फत साढे ४ लाख रुपैयाँ घुस लिइरहेको समयमा अख्तियारको टोलीले उनीहरूलाई समातेको हो ।
अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।




