रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाको एक मन्दिरमा गाँजा बिक्री गर्दै आएका साधु पुजारीलाई प्रहरीले पक्राउ गरेको छ । देवाही गोनाही नगरपालिका ९ धरहरीस्थित राम जानकी मठका ६५ वर्षीय पुजारी सिकेन्द्र राय यादवलाई गाँजासहित पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय गोनाहीबाट खटिएको प्रहरी टोलीले मन्दिरमै गाँजा बेचबिखन भइरहेको सूचना पाएपछि छापा मारेको थियो । छानबिनका क्रममा पुजारी यादवले लुकाएर राखेको प्लास्टिकको सानो प्याकेटमा करिब १ किलो लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन् ।
पुजारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडा, रौतहटमा पठाइएको र लागुऔषध बिक्री सम्बन्धी मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाइएको डिएसपी राजन कार्कीले बताए । यसअघि पनि रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एक मठबाट गाँजा बेचबिखनमा संलग्न अर्को साधु पक्राउ परेका थिए ।




