बारा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको पट्टा भाँचेर आज बिहान यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ४२ जना घाइते भएका छन् । मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका ५ का चेतन राय यादव रहेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । काँकडभिट्टाबाट दाङको लागि गएराति १ बजे छुटेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाइते भएका थिए ।
घाइतेहरु मध्य ३४ जनाको निजगढ स्थित सामुदायिक प्रसुती गृह अस्पतालमा र ९ जनाको सि.टी अस्पतालमा उपचार भइरहेको छ । प्रसुती गृहमा उपचाररत मध्ये ६ जना र सि.टी अस्पतालमा उपचाररत मध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय निजगढका ईन्सपेक्टर सुमित कुश्वाहाले बताए ।
उक्त बसको अगाडिको पट्दा भाँचेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




