महोत्तरी । प्रहरीले महोत्तरीको रामगोपालपुर नगरपालिका ५ बाट १५० किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । धादिङ धुनीबेँसी नगरपालिका ६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका १ बस्ने १८ वर्षीय सुदिप अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार पक्राउ परेका उनीहरु क्रमश: बा प्र ०१–०२६ च १३३६ नम्बरको पिकअपको चालक र सहचालक हुन् ।
उनीहरुले गएराति पिकअपमा त्रिपालभित्र लुकाएर १० पोका गाँजा सदरमुकाम जलेश्वरतिर लैजाँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी रामगोपालपुरको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई थप कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता जैसवारले बताए ।




