सिरहा । सिरहाका विभिन्न स्थानीय तहहरूमा व्यापक भ्रष्टाचारको आरोप लगाउँदै उजुरीहरू दर्ज हुन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्र सिरहाका स्थानीय तहविरुद्ध २७० उजुरी दर्ता भएको जानकारी दिएको छ । बिहीबार सुखीपुर नगरपालिकामा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।
थपलियाका अनुसार, प्राप्त उजुरीमध्ये २६ वटा मुद्दा समाधान भइसकेको र बाँकी २४४ वटा मुद्दा प्रक्रियामा रहेका छन् । जिल्लाका १७ स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी औरही गाउँपालिकाका ४६ वटा दर्ता भएका छन्, जसमा चार मुद्दा फर्स्योट भइसकेका छन् भने बाँकी ४२ वटा अझै प्रक्रियामा छन् ।
लहान नगरपालिकाविरुद्ध १६ उजुरी दर्ता भएकोमा एक फर्स्योट भएको छ । सिरहा नगरपालिकाका २७ उजुरीमध्ये पाँच वटा, गोलबजार नगरपालिकाका २३ उजुरीमध्ये एउटा, मिर्चैया नगरपालिकाका १३ उजुरीमध्ये एउटा र भगवानपुर गाउँपालिकाका १२ उजुरीमध्ये एक उजुरी फर्स्योट भइसकेका छन् ।
विष्णुपुर गाउँपालिकाका १८ उजुरीमध्ये दुई फर्स्योट भएका छन् भने नरहा गाउँपालिकाका सात उजुरीमध्ये एक, सखुवानन्कारकट्टीका पाँच उजुरीमध्ये एक, धनगढीमाई नगरपालिकाका १२, सुखीपुर नगरपालिकाका १५, बरियारपट्टी गाउँपालिकाका पाँच, लक्ष्मीपुर पतारीका तीन, अर्नमाका ११ र नवराजपुरका पाँच उजुरी दर्ता भएको छ ।
कार्यक्रममा सुखीपुर नगरपालिकाका नगरप्रमुख रामअवतार यादवले केही उजुरीहरू व्यक्तिगत दुश्मनी र काम अवरुद्ध पार्ने उद्देश्यले गरिएको दाबी गरे । अख्तियारको बर्दिबासस्थित कार्यालयले मधेश प्रदेशअन्तर्गत सिरहा, धनुषा, महोत्तरी, सर्लाही, कोशी प्रदेशका ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु र बागमती प्रदेशका सिन्धुली र रामेछाप जिल्ला समेटेर आफ्नो कार्यक्षेत्रमा काम गरिरहेको छ ।




