काठमाडौं । दशैँको अवधिमा मधेस प्रदेशमा सवारी दुर्घटनामा परेर २३ जनाको मृत्यु भएको छ । घटस्थापनादेखि असोज ३० सम्म भएका दुर्घटनामा दुई बालबालिका र दुई महिलासहित विभिन्न जिल्लामा २३ जनाले ज्यान गुमाएका छन् । यो जानकारी मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले दिएको हो ।
प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनामा कमी आएको छ भने मृतकको संख्या एकले घटेको छ । दशैँ अवधिमा ३१८ वटा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ र ५८९ जना घाइते भएका छन् । सबैभन्दा धेरै बारामा ७ जनाको मृत्यु भएको छ । सर्लाहीमा ६, पर्सामा ४, महोत्तरी र सिरहामा २/२ र सप्तरी तथा धनुषामा १/१ जनाको मृत्यु भएको तथ्यांकमा देखाइएको छ ।
मधेस प्रदेशका विभिन्न जिल्लामा भएका दुर्घटनामा बारामा ५३, सर्लाहीमा ५०, धनुषामा ४७, सप्तरीमा ४२, रौतहटमा ३९, सिरहामा ३२, पर्सामा ३१ र महोत्तरीमा २४ दुर्घटना भएका थिए । प्रवक्ता बोहराका अनुसार यस वर्ष ट्राफिक कारबाहीमा पर्नेको संख्या बढेको छ ।
यो वर्ष दशैँ अवधिमा ५ हजार ८११ सवारीसाधनलाई कारबाही गर्दा ५० लाख ६९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ, जुन गत वर्षभन्दा बढी हो । गत वर्ष ३५४ दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो र ५ हजार ३९ सवारी साधनलाई कारबाही गर्दा ४५ लाख ११ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।




