सिरहा । आपसी विवादको कारण आफ्नै साथीको हत्या गर्ने पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका १३ डंगराहा टोलका सन्तोष कुमार महरा (२७), रोहित कुमार महरा (२८), धर्मेन्द्र महरा (२१), धिरज कुमार राम (१९) र मोहमद जमसेद (२०) पक्राउ परेका हुन् । उनीहरुमाथि आफ्नै गाउँका साथी कृष्ण कुमार महराको हत्या गरेको आरोप लागेको छ ।
असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका १० शिवचौकमा दुर्गा पूजाको मेला हेर्न गएका थिए । त्यहाँ उनीहरू अरू साथीहरूसँग भेट भए । सबै मिलेर नशालु पदार्थ सेवन गर्ने योजना बनाएर मेला स्थलबाट पूर्वतर्फको खोला नजिक चौरमा पुगे । त्यहाँ गाँजा र नाइट्राभेट ट्याबलेट सेवन गरेका थिए ।
त्यसक्रममा, कृष्णले आफ्नो परिचित एक महिलालाई भेट्न बोलाए । तर, अरू साथीहरूले पनि ती महिलालाई भेट्ने इच्छा देखाएपछि कृष्णले अस्वीकार गरे । साथीहरूको प्रस्ताव इन्कार गर्दा उनीहरू रिसाए र हत्या गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
मोहमद जमसेद, धिरज कुमार राम, धर्मेन्द्र महरा, सन्तोष कुमार महरा, रोहित कुमार महरा र अरविन कुमार महराले मिलेर कृष्णलाई चारैतिरबाट घेराबन्दी गरी कैँचीले क्रुर यातना दिँदै घाँटी र पेटमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेका थिए ।
हत्या पश्चात अपराध छिपाउनका लागि उनीहरूले कृष्णको शव गागन खोलाको पश्चिमतर्फको किनारामा खाल्डो खनी, उनको शरीरको माथिल्लो भाग बालुवा छोपेर भागेका थिए । असोज २८ गते बिहान उनको शव फेला परेको थियो । प्रहरीको अनुसन्धानले घटना आफ्नै साथीहरूले गरेको पुष्टि गरेको छ ।
पक्राउ परेका आरोपितहरूलाई घरमै लुकेर बसिरहेको अवस्थामा शुक्रबार पक्राउ गरिएको थियो । उनीहरूलाई अदालतमा पेश गरी म्याद थपेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




