महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुई जना थुनामा पठाइएका छन् । महोत्तरी जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको एकल इजलासले महोत्तरीको औरही नगरपालिका ७ निवासी सञ्जीव झा र दिलीप मण्डललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले यस बारे जानकारी दिएका छन् । गत भदौ ९ गते, नेकपा (माओवादी केन्द्र) का तर्फबाट वडाध्यक्षमा विजयी भएका मुकेश यादव सवार लु प्र ०१–००१ प ६३६२ नम्बरको मोटरसाइकल जलेश्वर–बर्दिबास सडकखण्डको बर्दिबास नगरपालिका ८ स्थित कल्भर्ट नजिक दुर्घटनामा परेको थियो ।
दुर्घटनापछि यादवको शव सडकभन्दा तल कल्भर्टको छेउमा फेला परेको थियो, जसलाई शंकास्पद मान्दै माओवादी केन्द्रका नेता कार्यकर्ताहरूले घटना अनुसन्धान सिआइबीले गर्नुपर्ने माग गरेका थिए । घटनापछि जिल्लादेखि केन्द्रसम्म दबाबमूलक कार्यक्रमहरू चलेपछि मुकेशकै साथीहरू सञ्जीव झा र दिलीप मण्डललाई प्रहरीले पक्राउ गरेर मुद्दा अघि बढाएको थियो ।




