रौतहट । रौतहटको वृन्दावन नगरपालिकामा व्यापक भ्रष्टाचारको खुलासा भएको छ । नगरपालिकाले विभिन्न सामग्री खरिद प्रक्रियामा ठूलो अनियमितता गरेको पाइएको छ । सामान्यतया ५०० देखि ७०० रुपैयाँ पर्ने प्लास्टिकका कुर्सीहरू नगरपालिकाले ११५० रुपैयाँमा खरिद गरेको तथ्य फेला परेको हो । ५० थान कुर्सीको खरिदमा ५७,५०० रुपैयाँ भुक्तानी गरिएको छ ।
त्यस्तै, बजारमा १८०० देखि २५०० रुपैयाँ पर्ने हिटरलाई ५५०० रुपैयाँमा खरिद गरिएको देखिएको छ । ६६ थान हिटरको कुल मूल्य ३ लाख ६३ हजार रुपैयाँ पुगेको भएपनि ती हिटरहरू नगरपालिकाको कुनै शाखामा नरहेको बताइन्छ ।
मोबाइल खरिदमा पनि अनियमितता भएको पाइएको छ, जहाँ सामान्यतया २० देखि २४ हजारमा पाइने मोबाइलहरू ६० हजार रुपैयाँमा खरिद गरिएको छ । ४४ थान मोबाइलको खरिदमा नगरपालिकाले ११ लाख ५५ हजार ५ सय रुपैयाँ खर्च गरेको छ ।
कम मूल्यमा पाइने सामग्रीहरू दोब्बरभन्दा बढी मूल्यमा खरिद गर्नुका साथै ती सामग्री कहाँ प्रयोग गरिएका छन् भन्ने कुनै प्रमाण छैन । यो भ्रष्टाचारको विषयमा नगरपालिका प्रमुख र अन्य जिम्मेवार अधिकारीहरूलाई सम्पर्क गर्न प्रयास गर्दा उनीहरूले प्रतिक्रिया दिएका छैनन् ।
स्थानीय बासिन्दाहरूले नगरपालिकामा लामो समयदेखि भ्रष्टाचार भइरहेको आरोप लगाएका छन् र अख्तियार दुरुपयोग आयोगले छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।




