सप्तरी । सप्तरीको राजविराजमा एक महिलामाथि बलात्कार गरी भिडियो बनाएर धम्क्याएको आरोपमा रेस्टुरेन्ट सञ्चालक पक्राउ परेका छन् । राजविराज नगरपालिका ४ स्थित ‘तन्दुरी रेस्टुरेन्ट’का २८ वर्षीय सञ्चालक आकाश आदर्श, जो आकाश साहको नामले पनि चिनिन्छन्, उनी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार साहले आफ्नै रेस्टुरेन्टमा काम गर्ने एक महिलामाथि बलात्कार गरेर घटना कैद गरेका थिए । उनले उक्त भिडियो देखाएर पटक पटक यौनहिंसा गरेको अभियोग छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्र बस्नेतका भनाइ अनुसार साहले बिरामी भएर कोठामा आराम गरिरहेकी महिलामाथि जबर्जस्ती बलात्कार गरी भिडियो बनाएका थिए । त्यसपछि, उनले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल गरिदिने धम्की दिएर महिलालाई लगातार यौन दुर्व्यवहार गर्दै आएको जानकारी प्रहरीले दिएको छ ।
पीडित महिलाको उजुरीपछि प्रहरीले साहलाई राजविराज ६ थानगाछीस्थित उनको घरबाट पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




