सर्लाही । सर्लाहीमा करिब डेढ वर्षअघि भएको भारतीय नागरिकको हत्यामा संलग्न भएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा भारतको सितामढी जिल्लाका २६ वर्षीय धर्मेन्द्र राय रहेका छन् ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक कुमार श्रेष्ठले जनाए अनुसार, रायले गत वर्ष वैशाख २६ गते हरिपुर्वा नगरपालिका १ मा भारतीय नागरिक २६ वर्षीय शेखर सुमन (सिकु कुमार) लाई धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरेको आरोप छ । त्यसपछि उनी घटनास्थलबाट फरार भएका थिए ।
सर्लाही प्रहरीले २०८० जेठ ११ गते रायलाई पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति लिएको थियो । हाल रायलाई मलंगवा नगरपालिका ८ स्थित नेपाल–भारत सीमा नजिकको गोरखकाली सडक खण्डबाट पक्राउ गरिएको हो । प्रहरीले यस घटनामा थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।




