बारा । बारा जिल्लाको महागढीमाइ नगरपालिकामा भएको हत्या घटनामा मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ६ दिनअघि वडा नम्बर १ मा धारिलो हतियारको प्रयोगबाट वृद्ध श्रीनारायण प्रसाद यादवको हत्या भएको थियो ।
बारा प्रहरीले घटनास्थलबाट प्रमाणसहित अनुसन्धान गर्दै यादवका गाउँले सुफाइ चौधरीलाई मुख्य अभियुक्तका रूपमा पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार, चौधरी यादवको खेतमा काम गर्ने व्यक्ति थिए । अनुसन्धानका क्रममा चौधरीले हत्या स्वीकार गरेका छन् र पुरानो विवादका कारण घटनाको योजना बनाएको बयान दिएका छन् ।
शुक्रबार राति यादवमाथि खुकुरी प्रहार गरिएको थियो, जसले उनको टाउकोमा गम्भीर चोट पुर्याएको थियो । उपचारको क्रममा यादवको निधन भएको थियो । घटनापछि बारा प्रहरीले विशेष अनुसन्धान टोली गठन गरी शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै अनुसन्धान अघि बढाएको थियो ।
प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार, दिउँसो पत्रकार सम्मेलनमा मुख्य अभियुक्तलाई सार्वजनिक गर्ने तयारी गरिएको छ । चौधरीले प्रहरीलाई दिएको बयानमा यादवसँगको पुरानो रिसइबीको कारण हत्या गरेको बताएका छन् ।
उनका अनुसार, ‘करिब २/३ वर्षअघि म यादवको खेत जोत्ने काम गर्थें, तर पछि उहाँले त्यो खेतबाट मलाई हटाएर अरूलाई दिएपछि मेरो मनमा रिस जाग्यो । त्यसकै कारणले उनलाई मार्ने योजना बनाएँ र राति मौका मिल्नासाथ खुकुरीले प्रहार गरें ।’ प्रहरीले घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरिसकेको छ ।




