सर्लाही । गोडैता नगरपालिका १२ बाट नलकटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने ६ राउण्ड गोली, एक हजार दरको २० थान नक्कली जस्तो देखिने नोट र सानो पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोलीसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहार सितामढी मेजरगंज थाना बसविटा ग्राम पंचायत रसुलपुर गाउँ बस्ने २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालको मधुवनीगाउँ तर्फ आउँदै गरेका उनीहरूलाई उक्त हतियार र नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




