सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १६ भोर्लेनी जङ्गल क्षेत्रमा मोटरसाइकल र कार एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । दुर्घटना बुधबार दिउँसो सवा १२ बजे भएको हो ।
रानीगन्जबाट परवानीपुरतर्फ जाँदै गरेको बा १२ च ६८६४ नम्बरको कारले विपरीत दिशाबाट आइरहेको ना ६१ प ६५३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । यस घटनामा लालबन्दी नगरपालिका १५ परवानीपुरका पाल्साङ्ग योन्जन, उनका पाँच वर्षीय छोरा प्रयास र वृद्ध दामामाया योन्जन घाइते भएका छन् ।
घाइतेहरूलाई तत्कालै सोही कारमा राखेर उपचारका लागि मोडल अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको छ ।
दुर्घटनामा संलग्न कारका चालक, लालबन्दी ७ का ३१ वर्षीय उमाशंकर साहलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।




