सिरहा । सिरहाको गोलबजार नगरपालिकामा विगत ७ महिनामा ४० लाख रुपैयाँ भन्दा बढी अनियमितताका साथ कर्मचारीको नाममा तलब निकासा दिइएको खुलासा भएको छ ।
प्राप्त जानकारी अनुसार, नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकालमा फर्जी कर्मचारी खडा गरेर तलब निकालिएको र करिब २२ जना कर्मचारीको नाममा अनधिकृत तरिकाले तलब निकालिएको दाबी गरिएको छ ।
यसै क्रममा, एक नातेदारलाई मासिक २२ हजार रुपैयाँका दरले ७ महिना सम्म तलब भुक्तानी गरिएको पनि जनाइएको छ । अधिकृतका परिवारका सदस्य र अन्य नातेदारलाई काम नगरी तलब दिइएको र केही स्थानीय युवाहरूलाई सुरक्षाका लागि नियुक्ति गरी उनीहरूलाई पनि तलब भुक्तानी गरिएको तथ्य खुलेको छ ।
नगरपालिकाका केही अन्य कर्मचारीले पनि आफ्ना नातेदारलाई काम नगरी तलब दिलाएको जानकारी प्राप्त भएको छ । नगर प्रमुखले स्वजातीय बन्धु र कार्यकर्तालाई काम नगरी तलब खुवाएको आरोपमा आलोचना भइरहेको छ ।
विभिन्न दलका नेता र स्थानीय जनप्रतिनिधिहरूले यस घटनालाई भ्रष्टाचारको रूपमा लिएका छन् र दोषीहरूविरुद्ध कडा कारवाहीको माग गरेका छन् ।
सार्वजनिक क्षेत्रको कामकाजमा नियम र कानूनी प्रावधानको उल्लङ्घन गर्दै काम नगरी तलब दिने कार्यलाई भ्रष्टाचारका रुपमा परिभाषित गरिएको छ । स्थानीय नेताहरूले यसको विरोध गर्दै, दोषीलाई निलम्बन नगरेसम्म नगरपालिका कार्यालयको कार्य सञ्चालन नगर्ने चेतावनी दिएका छन् ।




