सर्लाही । ईश्वरपुर र लालबन्दीको सीमामा पर्ने फूलजोर खोलामा छठ पर्वका लागि बनाइएका खाडलहरू अहिलेसम्म नपुरिएको कारणले त्यहाँ नुहाउन आउने बालबालिका डुब्ने जोखिम बढेको छ ।
छठ पर्वको क्रममा खोलामा विशेष पूजाका लागि गहिरा खाडलहरू बनाइन्छन् । तर, पर्व सम्पन्न भएको लामो समय भएपनि ती खाडलहरू नपुरिएकाले दुर्घटनाको सम्भावना बढेको स्थानीयले बताएका छन् ।
खोलामा दैनिक रूपमा नुहाउन तथा खेल्न आउने बालबालिकाका लागि यी खाडलहरू खतरनाक बन्न सक्ने चेतावनी स्थानीय बासिन्दाले दिएका छन् । उनीहरूले तत्काल ती खाडलहरू पुरेर दुर्घटना रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
स्थानीय प्रशासन र सरोकारवाला निकायले यी खाडलहरूलाई चाँडै पुरेर जोखिम न्यूनीकरण गर्न पहल नगरे ठूलो दुर्घटना हुने सम्भावना रहेको छ ।




