रौतहट । रौतहटको पूर्वी क्षेत्र, दुर्गा भगवती गाउँपालिकामा आमा र छोराको हत्या गरी शव जलाएर फरार भएका अपराधीलाई चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति दुर्गा भगवती गाउँपालिका ४ छतौनाका ४८ वर्षीय महमद जनिफ हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार, उनलाई पिपरा बजार क्षेत्रबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । जनिफलाई कर्तव्य ज्यान कसूर मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रायले जनाएका छन् ।
२०७७ साल बैशाख ११ गते राति, दुर्गा भगवती गाउँपालिका ४ निवासी समरुदिन मियाँ कवारीकी २२ वर्षीया पत्नी हुस्नेयारा खातुन र उनका २ वर्षीय छोरा रेहानको हत्या भएको थियो । अपराधी जनिफले दुबैको शव मसुरोको भुसमा बलिरहेको आगोमा फालेर फरार भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
घटनास्थल नजिकै, करिब ३०० मिटरको दूरीमा, रेहानको टाउकोको कंकाल फेला परेको थियो । लामो समयसम्म फरार रहेका जनिफलाई प्रहरीले खोजी कार्यपछि पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ ।




