धनुषा । मंसिर ८ गते धनुषाको आमाखोलामा मृत फेला परेकी महिलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले जनकनन्दिनी गाउँपालिका ३ का २२ वर्षीय रामललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र शहीदनगर नगरपालिका ८ नाथपट्टीका २४ वर्षीय रमेशकुमार मण्डललाई पक्राउ गरेको हो ।
मंसिर ८ गते जनकनन्दिनी गाउँपालिका ४ खजुरी र कमला नगरपालिका २ सरावेको सीमाना रहेको आमाखोलामा प्लास्टिकको बोराभित्र महिलाको शव भेटिएको थियो ।
अनुसन्धानपछि ती महिला जनकनन्दिनी गाउँपालिका ५ उधाटोलकी २२ वर्षीया रेखाकुमारी मण्डल भएको खुल्यो । प्रहरी प्रमुख, प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार, घटनास्थलमा मृतकलाई ल्याउन ज्ञानेन्द्र दास र रमेशकुमार मण्डलले सहयोग गरेका थिए ।
रामललित मण्डल खत्वेले ढुंगाले अनुहारमा प्रहार गरी घाँटी रेटेर हत्या गरेको खुलेको छ । प्रेम सम्बन्धका कारण विवाहको विषयमा विवाद भएपछि हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । मृतक र खत्वेबीच पाँच–छ वर्षदेखि प्रेम सम्बन्ध रहेको जानकारी पनि प्रहरीले दिएको छ ।




