काठमाडौं । घुससहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा अशोक कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकका हकदारले पाउनुपर्ने क्रिया खर्च र क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस मागेका थिए ।
अख्तियारको टोलीले उनलाई २० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेपछि अनुसन्धान पूरा गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
यादवले सेवाग्राहीबाट घुस लिएको पुष्टि भएकाले कानुनअनुसार कैद सजायका साथै बिगो बराबरको जरिवाना मागदाबी गरिएको अख्तियारले जनाएको छ ।




