धनुषा । प्रेमिकाको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय मन्दिपकुमार यादवलाई पक्राउ गरेको छ । २०८१ असोज २३ गते बर्दिबास नगरपालिका ५ टुटेश्वरमा २२ वर्षीया अनु रायको हत्या भएको थियो । प्रारम्भिक जानकारी अनुसार, मन्दिपकुमार यादवले महोत्तरी अतराढका अनुलाई सानै उमेरदेखि मन पराएका थिए र दुवै जनाबीच प्रेम सम्बन्ध विकसित भएको थियो ।
दुवै जनाले विवाह गर्ने सहमति गरेको र टुटेश्वर मन्दिरमा भेटेर विवाहको लागि अभिभावकलाई बोलाउने विषयमा छलफल गरेको थियो । तर, विवाहको सहमतिपछि अभिभावकलाई बोलाउने विषयमा विवाद भएपछि एकअर्कालाई कुटपिट गर्दा अनु रायको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तुला प्रसाद जैसवारले जानकारी दिए ।
घटनाको अनुसन्धानका क्रममा, टुटेश्वर मन्दिरबाट मृतक अनु रायसँग मन्दिपकुमार यादवको सँगै यात्रा गरेको भिडियो प्राप्त भएको थियो । त्यसपछि, मन्दिपकुमार यादवलाई वीरगन्जबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए ।




