जनकपुरधाम । महोत्तरीको मनराशिसवा नगरपालिका ४ साढामा डाका समूहको आक्रमणबाट ७० वर्षीय सुशिल झाको मृत्यु भएको छ । डाकाहरुले उनको घरमा लुटपाटको प्रयास गर्ने क्रममा घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तु लाल प्रसाद जैसवारका अनुसार, ५/७ जनाको समूहमा आएका हतियारधारी डाकाहरूले झाको घरमा सुनको मंगलसूत्र र औंठी लुटपाट गर्न खोजेका थिए । प्रतिकार गरेपछि डाकाहरुले झाको घाँटी थिचेर हत्या गरेका थिए ।
झा आफ्नी पत्नीसँग घरमा बस्दै आएका थिए । डाकाहरुले सुनका गरगहना र ८० हजार नगद लुटेर लगेका छन् । घटनाको बेला झाको प्रतिकारले आक्रमण झन् हिंसात्मक बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटनास्थलमा झाको शव अहिले पनि रहेको र प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको छ । डाका समूहको खोजी कार्य जारी रहेको र दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय रहेको नायव उपरीक्षक जैसवारले जानकारी दिए ।
महोत्तरी र आसपासका क्षेत्रमा पछिल्लो समय बढ्दो डकैतीका घटनाले स्थानीयमा त्रास फैलाएको छ । सुरक्षाका लागि थप पहल गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासीले बताएका छन् ।




